Sunday, May 31, 2009

माधव नेपाल गृह जिल्लातिर

नवनियुक्त प्रधानमन्त्री माधवकुमार नेपाल गृहजिल्लातिर जानुभएको छ । उहाँ बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
उहाँले अध्ययन गरेको चन्द्रनिगाहापुरको जनज्योति बिद्यालयले आयोजना गर्ने स्वागत कार्यक्रम र सदरमुकाम गौरमा सम्मान कार्यक्रममा सहभागी भई पार्टीका नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उहाँले त्यहाँ रहेका सरकारी निकायका कर्मचारीहरुलाई पनि निर्देशन दिने पनि बताइएको छ ।
त्यसपछि उहाँ कोशी बाँधमा पुगेर त्यहाँको अबस्था बारे जानकारी लिने प्रधानमन्त्री स्रोतले जानकारी दिएको छ ।

छोरीलाई सरकारको नेतृत्व गराउन कोइरालालाई अप्ठेरो

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको पार्टीको नेतृत्व गरेर छोरी सुजातालाई सरकारमा पठाउने इच्छामा ठेस लागेको छ । उहाँलाई स्वेच्छिक निर्णय नर्गन नेताहरुले सुझाव दिएका छन् । केन्द्रिय समितिले पनि सोही बिषयमा दवाव दिएको छ ।
शनिबार दिनभर पार्टी कार्यालय बल्खुमा बसेको केन्द्रीय समितिको बैठकले सरकारमा कसकसलाई पठाउने भन्ने बिषयमा कोइरालालाई जिम्मा दिएपछि उहाँले पार्टीका बरिष्ठ नेताहरुसँग छलफल थाल्नुभएको थियो ।
उहाँले कावा सभापति शुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतका नेताहरुसँग छलफल गर्नुभएको थियो ।
सो अबसरमा नेताहरुले पार्टी उपसभापतिमध्येबाट सरकारको नेतृत्व गर्न उपयुक्त हुने तर्क राखेको स्रोतले जानकारी दिएको छ । पार्टीमा अहिले रामचन्द्र पौडेल, प्रकाशमान सिंह र गोपालमान श्रेष्ठ उपसभापति रहेका छन्‍f । सुजाताले नेतृत्व नगरेपनि महत्वपूर्ण मन्त्रालयको साथमा सरकारमा जाने सक्ने स्रोतले जानकारी दिएको छ । सो बिषयमा थप आन्तरिक छलफलहरु जारी रहेका छन्‍f ।

Saturday, May 23, 2009

अन्तिम क्याबिनेट बैठक बालुवाटारमा वस्दै

९ जेठ, काठमाडौं ।
कामचलाउ सरकारले राजीनामा दिएको २० दिनपछि आज मन्त्रीपरिषद बैठक बस्दै छ । कामचलाउ सरकारमा सहभागी सबै दललाई बैठकमा बोलाइएको संञ्चारमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बिहान ११ बजे बस्ने बैठकले नौ महिने सरकारको कामको समिक्षा समेत गर्ने बताइएको छ । कामचलाउ सरकारका प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुले आजै मन्त्री निवास पनि छाड्ने बुझिएको छ ।

प्रधानमन्त्रीको उम्मेदवारमा नेपालको मनोनयन दर्ता

९ जेठ, काठमाण्डौं ।
आज हुने प्रधानमन्त्री पदको निर्वाचनका लागि एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नाम दर्ता गरिएको छ ।नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा प्रस्तावक रहेको मनोनयनमा एमाले अध्यक्ष झलनाथ खनालसहित २२ जना समर्थक रहेका छन् । यस्तै स्वतन्त्र सभासद बबन सिंह र सदरुल मियाँ हकले पनि नेपाललाई समर्थन गरेका छन् ।अपरान्ह १ बजेसम्म मनोनयन दर्ता गराएपछि तीन बजे सुरु हुने संबिधानसभाको वैठकमा प्रधानमन्त्रीको निर्वाचन हुने कार्यतालिका संसद सचिवालयले तय गरेको छ ।
यता माओवादीले भने प्रधानमन्त्रीको निर्वाचन प्रकृया बहिस्कार गर्ने भएको छ । माओवादीले प्रधानमन्त्रीको उम्मेदवार नउठाएपछि नेता नेपाल निर्बिरोध हुने देखिएको छ ।

नेकपा एकीकृत माओबादीका अधयक्ष क. प्रचण्डले संबिधानसभामा दीनुभएको भाषण

सभामुख महोदय
नेपाली राजनीतिको अत्यन्त तरल सम्भावनायुक्त र चुनौतिपूर्ण मोडमा सरकारबाट राजीनामा दिइसकेको एक काम चलाउ प्रधानमन्त्रीका हैसियतले आज यस रोष्ट्रममा माननीय सदस्यहरुका अगाडि उभीएर केही कुरा राख्दैछु। गत करिब १ महिनाको अत्यन्त तीव्र राजनीतिक उतार-चढाव अन्यौल र आशंकाको तुवाँलो अझै हटिसकेको छैन। अन्तरिम संविधानको मर्म र भावना पुरै मिचिने त होइन समग्र शान्ति प्रक्रिया धरापमा पर्दै वा पारिँदै त छैन यो ऐतिहासिक संविधान सभालाई निरीह संस्था बनाई जनताको अपेक्षाअनुसार संविधान निर्माणको काम अलपत्र पर्ने त होइन देशलाई भीषण द्वन्द्वमा धकेल्ने र यसको राष्ट्रिय अस्तित्व र अस्मीता समाप्त पार्ने दुरवर्ती षड्यन्त्रले कहीँ कतैबाट काम गरिरहेको त छैन आज नेपाली जनताका मनमा यी र यस्तै प्रश्नहरु खेलिरहेको तथ्य सजिलै बुझ्न सकिन्छ। यस विशिष्ट क्षणमा म इतिहासका सम्पूर्ण सहिदहरुका साथै महान् जनयुद्ध जनआन्दोलन र मधेश आन्दोलनलगायत स्वतन्त्र समृद्ध एवं नयाँ लोकतान्त्रिक नेपालको सपना साकार पार्न आपुनो प्राणोत्सर्ग गर्ने हजारौं ज्ञात-अज्ञात सहिदहरुप्रति श्रद्धा व्यक्त गर्दछु। उनीहरुको परिवारजनप्रति सम्मान प्रकट गर्दछु। त्यसै गरी ती हजारौं वेपत्ता योद्धाहरु जसले नयाँ नेपालका लागि असीम त्याग र वलिदानको कीर्तिमान कायम गरेका छन् ती सबैप्रति उच्च सम्मान प्रकट गर्दै पीडामा छटपटिएका उनीहरुका परिवारजनप्रति हार्दिक स्नेह र सम्मान व्यक्त गर्दछु। नयाँ नेपाल निर्माणको सन्दर्भमा घाइते अपाङ्ग बन्न पुगेका तमाम योद्धा र उनीहरुका परिवारजनप्रति पनि म यस क्षणमा स्नेह र सम्मान प्रकट गर्न चाहान्छु।

सभामुख महोदय
एकीकृत नेकपा माओवादी को नेतृत्वमा रहेको सरकारले आफु मातहतको एक कर्मचारी नेपाली सेनाको प्रधान सेनापतिसँग मागेको स्पष्टीकरण र उनीमाथि लिइएको कारबाही प्रकरणले नेपालको लोकतन्त्रको स्थिति नेपालको आत्मनिर्णयको अधिकार यसको राष्ट्रिय स्वतन्त्रताको स्थितिजस्ता अत्यन्त गम्भीर दुरगामी र संवेदनशील प्रश्नहरुलाई सतहमा ल्याएको छ। २००७ साल वरिपरिबाट जनताको सर्वोच्चताका लागि लड्दै आएका राजनीतिक दल नागरिक आन्दोलन र सम्पूर्ण सचेत नेपालीले यतिबेला निधार खुम्च्याएर छातीमा हात राखेर सोच्नु पर्ने भएको छ। २००७ सालको राजनीतिक उपलब्धी ०१७ सालमा कसरी खोसियो निर्दलीय पाचायती तानाशाही ३० वर्षसम्म कसरी टिक्न सक्यो ०४६ सालको ऐतिहासिक जनआन्दोलनले ल्याएको राजनीतिक परिवर्तनलाई ज्ञानेन्द्र शाहले कसरी सजिलै अपहरण गरेर निरङ्कुश शासन लाद्न सके जनयुद्ध र जनआन्दोलनका शक्ति मिलेर परास्त गरिएको निरङ्कुश सामन्तीतन्त्र फर्कने कुन-कुन कुनाबाट हुन सक्छ प्रश्न निकै गम्भीर छन्। इतिहासका प्रत्येक मोडमा प्राप्त राजनीतिक उपलब्धीलाई संस्थागत गर्न त्यसकै अनुपातमा सेनामा सुधार र सुदृढीकरण गरी नागरिक सर्वोच्चतलाई दिगो पार्न नसक्नु नै ००७ सालदेखिकै हाम्रो राजनीतिक आन्दोलनको एउटा भयानक र विस्मयकारी कमजोरी रहँदै आएको छ। यो तथ्यलाई आपुनो जीवनको उत्तराद्र्धमा नेपाली कांग्रेसका नेता एवं विचारक वीपी कोइरालाले देख्नु भएको कुरा हामी सबैलाई थाहा छ।

सभामुख महोदय
आज फेरि प्रश्न नागरिक सर्वोच्चतालाई दिगो पार्न सेनामा आवश्यक सुधार गर्ने वा नागरिक सर्वोच्चतालाई चुनौती दिने एकाध सैनिक अधिकारीका अगाडि घुडाँ टेकेर जनताको उपलब्धीलाई खिल्ली उडाउने लोकतन्त्रको यक्ष प्रश्न आज यही बन्न गएको छ। कुसर्ीको क्षणिक स्वार्थका निमित्त राष्ट्र र जनतालाई भड्खारोमा हाल्न तयार हुने वा राष्ट्रको स्वतन्त्रता एवं जनताको सर्वोच्चताका लागि कुसर्ीको परवाह नगरी दह्रोसँग उभिने यो प्रश्नको जवाफ हाम्रो पार्टी र त्यसको नेतृत्वका हैशियतले मैले कुसर्ी त्यागलाई सगर्व स्वीकार गरेर दिएको छु। म आशा गर्दछु कि यो सम्मानीत सदनले लोकतन्त्र के यो भारी संवेदनशील मुद्दामा सही फैशला लिने छ। यदि तत्काल त्यसो हुन सकेन भने पनि यो मुद्दा आम जनताको मुद्दा हुनेछ र जनता आपुनो सर्वोच्चताका निमित्त यो मुद्दामा पुरै जीत हाशिल नहुँदासम्म अगाडि बढिरहने छन्। हामी हमेशा राष्ट्र र जनताको साथ हुने छौं।

सभामुख महोदय
नेपाली लोकतन्त्र र जनताको सर्वोच्चताबारे यति कुरा राखी सकेपछि अब म नेपाली राष्ट्रियताका बारेमा केही कुरा राख्न आवश्यक ठान्दछु र त्यसको लागि अनुमति चाहान्छु। राष्ट्रियता र लोकतन्त्र अविभाज्य छन् र यतिबेला यी प्रश्न विशिष्ट रुपले व्यक्त भइरहेका छन्। राष्ट्रियताको चर्चा गर्दा यसको बाह्य र आन्तरिक दुवै पक्षमा ध्यान जान जरुरी छ। राष्ट्रियताको बाह्य पक्षको कुरा गर्दा नेपाली विशिष्टितामा छिमेकी भारत र हाम्रो नेपालको सम्बन्धका अत्यन्त संवेदनशील पक्षहरु आकर्षित हुन्छन्। म सुरुमै स्पष्ट गर्न चाहान्छु हामी हाम्रो छिमेकी र विश्वका सबै राष्ट्रहरुसँग सुमधुर कुटनीतिक सम्बन्धको पक्षमा दृढ छौं। यहाँ म नेपाल भारत सम्बन्धका बहुआयमिक पक्षहरुका बारेमा विस्तृत चर्चा गर्न पनि गइरहेको छैन। यहाँ मैले के मा मात्र ध्यान आकर्षित गर्न चाहेको छु भने अंग्रेज-भारतसँगको सुगौली सन्धीबाट निर्धारित दुई पक्षीय सम्बन्धको परिभाषा र त्यसबाट निर्मित भारतिय र नेपाली शासन सत्ताको मानसिकता शैली र संस्कारमा परिवर्तनको कुरा। हामी सुगौली सन्धीबाट अंग्रेज-भारतको अर्धउपनिवेस बन्न पुगेको तथ्यमा विश्वास गर्दछौं। अंग्रेजका विरुद्ध भारतीय जनताको स्वतन्त्रतापछि नेपालको जहाँनीया सामन्ती राणा शासनसँग गरिएको सन् १९५० को सन्धी हुँदै आजको नेपालको युगान्तकारी परिवर्तन जहाँ करिब २४० वर्ष पुरानो सामन्ती राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। यहाँसम्म आइपुग्दा हाम्रा दुई पक्षीय सम्बन्धमा के कति नयाँ परिभाषा मुल्य मान्यता र संस्कारको विकास गरियो हाम्रो विचारमा यो अत्यन्त महत्वपूर्ण प्रश्न छ।

सभामुख महोदय
म संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेपछि स्वभाविक रुपमा हिजोका परम्परा र मान्यताबाट केही फरक ढंगले चल्ने कोशिस गरें। ओलम्पिक खेलको समापन समारोहका सन्दर्भमा मेरो पहिलो चिन भ्रमण र त्यसको लगत्तै भएको भारत भ्रमणका सन्दर्भमा मैले पुरै जिम्मेदारी र गम्भीरताका साथ दुवै देशका नेताहरुसँग नेपालमा भएको युगान्तकारी परिवर्तनमा व्यक्त जन-आकांक्षाअनुसार हाम्रा सम्बन्धहरुलाई परिभाषित र विकसित गर्नुपर्ने आवश्यकतालाई अगाडि सारे। भारत-भ्रमणका सन्दर्भमा गरिएको दुवै प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा त्यो विचार र भावना व्यक्त भएको तथ्य हामी सबैले देखेकै छौं।

सभामुख महोदय
तर आज म बडो चिन्ता र गम्भीरताका साथ अनुभूत गरिरहेको छु कि दुई पक्षीय सम्बन्धलाई नयाँ परिवर्तनअनुसार परिभाषित र विकसित गर्ने ऐतिहासिक आवश्यकतामा हामी सफल भइरहेका छैनौ। बरु नेपाल र भारतका शासन सत्तामा हावी रहँदै आएको सानुभाई र ठुलो दाजुको परम्परागत सम्बन्ध तिरै फर्कने खतरा उत्पन्न भएको महशुस हुन्छ। जुन कुरा किमार्थ नेपाल र भारतका जनताको विकसित चेतना र २१ औं शताब्दिको पहिलो दशकमा दुई देशका बहुआयमिक आवश्यकतासँग मेल खाँदैन। अहिले नेपालको सेनापति प्रकरण राष्ट्रपतिको कदम र नयाँ सरकारको गठनको प्रक्रिया सबैका सन्दर्भमा नेपाली र भारतीय जनताका मनमा हामी अगाडि बढ्दै छौं वा पछि हट्दै छौं भन्ने प्रश्न गम्भीर रुपले उठेको देखिन्छ।संघीय लोकतान्त्रिक गणतन्त्रको प्रधानमन्त्रीका हैसियतले दुई-पक्षीय सम्बन्धलाई नयाँ ढंगले अगाडि बढाउन खोज्ने मेरो प्रयत्न परम्परागत शक्ति शैली र मानसिकतासँग अन्तरविरोधी बन्न गएकोले आजको स्थिति उत्पन्न भइरहेको त होइन यो प्रश्न आफैँमा निकै गम्भीर छ। परिवर्तित परिस्थिति र जनताको नयाँ चेतनाअनुसार दुई-पक्षीय सम्बन्धलाई परिभाषित गर्ने र विकसित गर्ने कुरामा गम्भीर भएर मात्र हामीले यो समस्याको दीर्घकालीन समाधान गर्न सक्दछौं। राष्ट्रिय आन्त्मसमर्पणवाद वा संकीर्ण सामन्ती राष्ट्रवाद दुवैले देश र जनताको भलो गर्दैन।

सभामुख महोदय
नेपालको राष्ट्रियतालाई सुदृढ गर्ने कुरा वस्तुतः र अन्ततः आन्तरिक राष्ट्रियतलाई सुदृढ गर्ने कुरा नै हो। आन्तरिक राष्ट्रियता त्यतिबेलासम्म सुदृढ हुन सक्तैन जबसम्म जनता सबैखाले शोषण उत्पीडन भेदभाव र अपमानबाट मुक्त हुँदैनन्। आज हामी देशका सम्पूर्ण उत्पीडित वर्ग जाति क्षेत्र र लिङ्गका जनसमुदायलाई अधिकार सम्पन्न तुल्याउने उद्देश्यका साथ राज्यको अग्रगामी पुनस्रंरचना गर्ने प्रक्रियामा छौं। यस सन्दर्भमा आत्मनिर्णयको अधिकारको सिद्धान्तलाई आत्मसात गरी जातिय र क्षेत्रीय स्वायतत्ता गणराज्यहरुका संघीय गणतन्त्र विकसित गर्ने प्रयत्न भारी ऐतिहासिक महत्वको छ। अधिकार सम्पन्न जनसमुदायले मात्र राष्ट्रियताको वास्तविक अर्थमा जगेर्ना गर्न सक्दछ। संघीयता र स्वयत्तताका लागि नेपाली जनताले जनयुद्ध र जनआन्दोलनमा धेरै रगत बगाइसकेका छन्। तर एकात्मक र केन्द्रीकृत सामन्ती राज्यका पक्षधर प्रतिगामी र यथास्थितिवादी शक्तिहरु भने हमेशा मजदुर-किसान र उत्पीडित जाती क्षेत्र र लिङ्गलाई अधिकार सम्पन्न तुल्याउने र राज्यका सबै अंगमा समावेशी र समानुपातिक प्रतिनिधित्व गर्ने गराउने कुराको विरोधी रहँदै आएका छन्। यो ऐतिहासिक तथ्य पनि सर्वमान्य भइसकेको छ कि नेपालमा मजदुर-किसानदेखि उत्पीडित महिला दलित र मुस्लिमसम्म मधेशीदेखि सम्पूर्ण आदिवासी जनजातिसम्म तथा कर्णालीदेखि सेती-महाकालीसम्मका जनतामा नयाँ जागरण ल्याएर देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र तिर डोर् याउने काम मुख्यतः एकीकृत नेकपा माओवादी ले गरेको हो। जनताका यो नयाँ जागरण र चेतनाबाट भयभीत एकात्मक र केन्द्रीकृत सामन्ती राज्यका देशी र विदेशी पृष्ठपोषकहरु यो महान् राष्ट्रिय जागरणलाई एकातिर अन्धजातिवादी साम्प्रदायिक र विखण्डनकारी स्वरुप प्रदान गर्ने तथा अर्कातिर ठाडै संघीयताको विरोध गरेर निष्तेज पार्ने षड्यन्त्रमा छन्। अहिले कटवाल प्रकरणका सन्दर्भमा जेजति असंवैधानिक अलोकतान्त्रिक र अनैतिक तरिक अप्नाएर जन-निर्वाचित र जनादेश प्राप्त प्रमुख राजनीतिक दल र नेतालाई पाखा लगाउने तथा जनताबाट नेतृत्वका लागि अस्वीकृत दल र नेतालाई बलजफती थोपर्ने कोशिस गरिँदै छ प्रतिक्रान्तिको योभन्दा नाङ्गो रुप अरु के हुन सक्दछ यसभित्र एकीकृत नेकपा माओवादी लाई होइन जनताको संघीय गणतान्त्रिक शासनलाई घेरा हालेर सखाप पार्ने नियोजित षड्यन्त्रले काम गरिरहेको यथार्थ स्पष्ट देख्न सकिन्छ। वर्गीय जातिय क्षेत्रीय र लैङ्गिक अधिकारका निमित्त आवाज उठाउने जनताको आवाजलाई निष्तेज पार्न सबभन्दा पहिला त्यसको नेतृत्व गर्ने विचार र शक्तिलाई निस्तेज पार्न आवश्यक हुन्छ। अहिले माओवादीका विरुद्ध भइरहेको घेराबन्दी त्यही उद्देश्यमा आधारित रहेको छ। तर प्रतिक्रान्तिकारीहरुका सबै घेराबन्दीहरुलाई तोडेर नेपाली जनता अगाडि बढ्ने छन् र एकीकृत नेकपा माओवादी निरन्तर जनताकै साथमा रहनेछ।

सभामुख महोदय
आजको युगको विशेषता र समाज विकासको स्थिति दुवैका कारण नेपालमा राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपतिको होइन बरु दलाल र नोकरशाही पुँजीपतिहरुको विकास भइरहेको छ। यसको परिणाम नेपालको परम्परागत प्रजातन्त्रवादी भनिने राजनीतिक दल र तिनका नेताहरुले राष्ट्रिय पुँजीपति वर्गका हितलाई होइन दलाल र नोकरशाही पुँजीको हितलाई प्रतिनिधित्व गर्दै आएका छन्। राजनीतिमा व्यक्त हुँदा यो कुरा त्यस प्रकारका दल र नेताहरुले स्वयं पुँजीपति वर्गका राजनीतिक नाराका विरुद्ध खडा भएर आफैँलाई प्रमाणित गर्दछन्। नेपालमा संविधानसभा गणतन्त्र हुँदै अहिले नागरिक सर्वोच्चताका विरुद्ध खडा भएर त्यही दलाल चरित्रकै प्रदर्शन गरिरहेका छन्। कैयौं कमी-कमजोरीका बाबजुद संविधानसभा संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वोच्चताको लडाइँको नेतृत्व एकीकृत नेकपा माओवादी ले गर्दै आएको छ। अहिले कटवाल प्रकरणमा त्यस प्रकारका दलहरु नागरिक सर्वोच्चताका विरुद्ध देखिनु अन्ततः राष्ट्रिय पुँजीका विरुद्ध दलाल पुँजीको पक्षमा देखिनु मात्र हो।

सभामुख महोदय
उपरोक्त केही सैद्धान्तिक र नीतिगत चर्चा गरिसकेपछि अब म तात्कालिन राजनीतिक घटनाक्रमको विकासबारे केही ठोस चर्चा गर्न चाहान्छु। सेना समायोजन र पुनस्र्थापनाको विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत खुल्ला अभिव्यक्ति दिँदै आएका तात्कालिन सेनापति रुकमाङ्गत कटवाल को हुन के हुन र कसरी हुर्काइएका पात्र हुन भन्ने कुरा स्पष्ट नै छ। राजतन्त्र धर्म निरपेक्षता लोकतन्त्र र संघीयताबारे उनले कस्तो सोच राख्छन् भन्ने कुरा पनि हामी कसैबाट छिपेको छैन। जनआन्दोलनमा उनको भूमिका रायमाझी आयोगको ठहर र राजाको हुकुम प्रमांगिद्वारा उनको उमेर घटाइएको बारेको मुद्दा सर्वोच्चतामा रहेको तथ्य पनि दिनको घाम जत्तिकै छर्लङ्ग छ। विगतमा यी तमाम तथ्यहरुका बाबजुद मेरो नेतृत्वको सरकारले उनलाई रुपान्तरण गर्ने र परिवर्तनलाई आत्मसात गर्न लगाउने कुरामा नै जोड गर् यो। िसंगो नेपाली सेनाका आवश्यकतालाई परिपूर्ति गर्न िसंगो सैन्य पंक्तिसँग हार्दिक सम्बन्धको विकास गर्न पनि सरकारले कुनै कसर बाँकी राखेन। तर कटवाल भने सेनापतिभन्दा एउटा उग्र राजनीतिज्ञ र कुटनीतिज्ञको जस्तो व्यवहार प्रस्तुत गर्दै तथा एकपछि अर्को गरी सरकारका आदेशहरुको उल्लंघन गर्दै नागरिक सर्वोच्चतालाई चुनौति दिएर अगाडि बढ्न थाले। त्यो स्थितिमा जनताको परिवर्तनको आकांक्षाअनुसार नेपाली सेनालाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार सुधार र सुदृढ गर्दै लानु पर्दछ भन्ने मान्यता राख्ने मेरो नेतृत्वको सरकारलाई उठाउने जनताको सर्वोच्चता र लोकतन्त्रको आधारभुत सिद्धान्तको रक्षाका लागि कुनै ठोस कदम चाल्नु अनिवार्य थियो। त्यस प्रकारको कदम चाल्न कमसेकम सरकारमा भएका राजनीतिक दलहरुको सहमती आवश्यक थियो।

सभामुख महोदय
म निकै पीडाका साथ यो सम्मानीत सदनलाई स्पष्ट गर्न चाहान्छु कि कटवाललाई सेनापतिबाट अवकाश दिने प्रयोजनका निमित्त भनेर नै सरकारमा रहेका पाँचवटै पार्टीहरुको पूरै सहमतिले स्पष्टीकरण प्रक्रिया सुरु गरिएको थियो। सद्भावनाका नेता राजेन्द्र महतोले मात्र यो निर्णय लिँदा दशपटक सोच्न आग्रह गर्नु भएको थियो। हुँदैन भन्ने विरोध कसैको थिएन। सरकारमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको आमसहमतिले क्याविनेटबाट यो निर्णय भएपछि मैले संक्षिप्त मन्तव्य दिएको थिएँ। त्यसमा मैले भनेको थिए कि लोकतन्त्र र नागरिक सर्वोच्चताको सुदृढीकरण सेना समायोजन र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर् याउने सन्दर्भमा यो निर्णय दुरगामी महत्वको रहेको तथा हाम्रो क्याविनेटको यो एकताबद्ध निर्णय ऐतिहासिक हुने कुरा राखेको थिएँ। त्यो दिन सबै माननीय मन्त्रीजीहरु मेरो हेराईअनुसार महत्वपूर्ण निर्णय लिन सकेकोमा हर्ष र गर्वको अनुभूति गरेर निष्कनु भएको थियो। स्वर्गबाट आकाशवाणी आयो वा कतैबाट रिमोट कन्ट्रोल भयो वा केही जादु भयो सरकारका केही दलहरु १८० डिग्रीमा फेरिए। कारवाहीसम्म पुग्दा जे भयो हामी सबैका अगाडी छ। सभामुख महोदय १ यस परिघटनाले वडो निर्मम र मार्मिक रुपले प्रमाणित गरी दिएको छ कि हाम्रा राजनीतिक दल र तिनका नेताहरुको वैचारिक नैतिक र स्वनिर्णयको हैशियत कति कमजोर लोकतन्त्र र नागरिक सर्वोच्चताप्रति प्रतिबद्धता कति खोक्रो र कमजोर छ। यसबाट नेपालको राष्ट्रिय स्वतन्त्रता र स्वभिमानको विष्मयकारी रुपले कमजोर स्थितिलाई उजागर गरेकेा छ। अहिले कतिपय वृत्तबाट माओवादीको एकलौटी निर्णय भनेर आलोचना भइरहँदा त्यसो भन्नेहरुको दृष्टी र नैतिक हैसियत देख्दा मलाई कहिले असीम पीडा र कहिले हाँसो उठ्ने गर्दछ। आत्मसमर्पण गर्ने विश्वासघात गर्ने र नागरिक सर्वोच्चताको खिल्ली उडाउनेको पक्ष-पोषण गर्ने कुसर्ी त्याग्ने तर राष्ट्रिय अडान नछाड्नेको विरोध यो उल्टो गंगा बगाउने प्रयत्न नेपालमा कहिलेसम्म हुने हो यो पनि प्रश्न निकै गम्भीर छ।

सभामुख महोदय
यसरी संविधान र ऐनको व्यवस्थाअनुसार राजनीतिक सहमति जुटाएर विधिसम्मत तरिकाले कटवाललाई अवकाश दिएपछि घटनाक्रमले जेजसरी नाटकीय मोड लियो र अन्तमा सम्माननीय राष्ट्रपति महोदयले झण्डै आधारातमा जसरी जङ्गि अड्डामा कटवाललाई पदबहालीको पत्र पठाउनु भयो त्यसले अन्तरिम संविधानको मर्म र भावनालाई ठाडै मिच्ने निरङ्कुश हुकुमी शासनको झ-झल्को मात्र दिएन अपीतु िसंगो शान्ति प्रक्रिया र संविधान निर्माणको प्रक्रियालाई नै धरापमा पार्ने काम गर् यो। जजसले सम्माननीय राष्ट्रपतिलाई यसको निम्ति उक्साए या निर्देशित गरे उनीहरुको उद्देश्य शान्ति र संविधान होइन देशलाई अर्को युद्धमा धकेलेर बरबाद पार्नु मात्र हो भन्ने कुरा बुझ्न धेरै मेहनत गर्नुपर्छ जस्तो मलाई लाग्दैन। यस सन्दर्भमा राष्ट्रपतिको असंवैधानिक कदमलाई उचित ठहर् याउन कतिपय वृत्तबाट ूमाओवादीले सत्ता कब्जा गर्दछौंू भन्ने मनगढन्ते कथालाई यहाँँ त्यसरी नै धुवाधार प्रचार गरियो जसरी इराकमा हमला गर्नु अघि आम संहारका हतियारको प्रचार विश्वभरि हुने गर्दथ्यो।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुर् याउन जुटिरहेको जनताको अपेक्षाअनुसार समयमै संविधान निर्माण गर्न प्रतिबद्ध मेरो नेतृत्वको सरकारले लिएको विधिसम्मत निर्णयलाई उल्टायाएर राष्ट्रपतिद्वारा द्वैध सत्ता र मुठभेडको स्थिति सृजना गरियो। त्यस प्रकारको मुठभेड रोकी शान्ति र संविधान निर्माणको प्रक्रियालाई ज्यूँदो राख्न राष्ट्रपतिको असंवैधानिक कदमका विरुद्ध संघर्ष गर्न तथा एकीकृत नेकपा माओवादी र यसका नेताहरु कुसर्ीका लोभी होइनन् बरु राष्ट्र र जनताका असली पहरेदार हुन भन्ने यथार्थलाई दह्रोसँग स्थापित गर्न नैतिकताका आधारमा मैले राजीनामा गरें। प्रधानमन्त्री हुँदाजस्तै राजीनामा दिँदा पनि नेपाली जनताले मलाई बधाई दिए हाम्रो पार्टी यसमा समुचित गर्व गर्दै आम जनसमुदायप्रति आभार प्रकट गर्दछ। कतिपयले मेरो राजीनामालाई अल्पमतमा परेपछिको स्वभाविक राजीनामाका रुपमा प्रचार गरिरहेका छन् जुन विल्कुल निराधार र झुट्टो हो। यथार्थमा त्यतिबेलाको त कुरै छोडौं अहिले पनि सरकार वैधानिक रुपले अल्पमतमा परेको छैन त्यसकारण राजीनामाको प्रश्नै उठ्दैन। स्पष्ट छ मेरो राजीनामा यथार्थमा शान्ति र संविधान निर्माणको प्रक्रिया बिथोलेर प्रतिक्रान्ति सम्पन्न गर्न चाहने प्रतिक्रान्तिकारीहरुका विरुद्ध अस्त्र हो। पछिल्लो घटनाक्रमले यो कुरालाई पुष्टि गरिसकेका छन्।

सभामुख महोदय
अहिले नागरिक सर्वोच्चताको गला रेटेर सैनिक सर्वोच्चता अन्तर्गत बहुमतको सरकार बनाउने जुन कसरत भइरहेको छ र बहुमत पुर् याउन हिजो राजतन्त्रकालकै किनबेच जुन फोहोरी खेलको पुनरावृत्ति गरिएको छ यसबाट नयाँ सरकार प्रतिगामी र आत्मसमर्पणवादी कठपुतली सरकार बन्ने त होइन भन्ने प्रश्न स्वाभिमानी नेपाली जनताको मनमा उब्जिसकेको छ। हाम्रो पार्टीले सरकार गठनको यो नौटंकीको भत्स्रना गर्दै राष्ट्रपतिको असंवैधानिक आदेश फिर्ता गरेर नागरिक सर्वोच्चता स्थापित नहुँदासम्म सदन र सडक दुवै क्षेत्रबाट शान्तिपूर्ण प्रतिवाद गरिरहनेछ। यसै प्रयोजनका लागि यस सम्मानित सदनमा एक संकल्प प्रस्ताव दर्ता गरिएको छ। विधि सम्मत तरिकाले त्यसमाथि बहस गरी यस सम्मानित सदनले नागरिक सर्वोच्चताका पक्षमा ऐतिहासिका फैशला दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौं।

सभामुख महोदय

मैले आफ्नो राजीनामा पत्रमा भनेका निम्न यथार्थ र प्रतिबद्धता म यहाँ पुनः दोहोर् याउन चाहान्छु।
संविधानसभा निर्वाचनमा आम नेपाली जनताको अपार माया र समर्थन पाएर हाम्रो पार्टी एकीकृत ने।क।पा। माओवादी ले प्रत्यक्ष निर्वाचन प्रणालीमा स्पष्ट वहुमत र समानुपातिक निर्वाचन प्रणालीमा सवभन्दा ठूलो दलको हैसियत प्राप्त गर् यो। यो हामीले चुनावका दौरानमा अघि सारेको ुनयाँ नेपालका निम्ति नयाँ विचार र नयाँ नेतृत्वु भन्ने नाराको स्पष्ट जनअनुमोदन थियो। परन्तु निर्वाचन परिणाम निस्केको चार महिनासम्म विभिन्न वहानामा माओवादी नेतृत्वमा सरकार वनाउन दिइएन। अन्त्यमा लोकलाजले बाध्य भएर मात्र गत भदौको पहिलो हप्तामा मेरो नेतृत्वमा गणतन्त्र नेपालको पहिलो निर्वाचित सरकार गठन गर्ने मार्ग प्रशस्त भयो। त्यसपछि सरकार संचालन गर्ने हाम्रो आपुनै कतिपय अनुभवजन्य कमीकमजोरीका कारणले पनि हामीले तपाईंहरुले चाहे जस्ता सवै कामहरु वेलैमा गर्न सकेनौं होला। हामी जानअनजानमा भएका आफ्ना कमीकमजोरीहरुलाई कुनै पनि वहानामा ढाकछोप गर्ने पक्षमा छैनौं। जनतावाट सिक्ने र जनताका स्वस्थ आलोचनाहरुलाई गम्भीरतापूर्वक लिने हाम्रो घोषित वैचारिक प्रतिवद्धता नै हो। परन्तु हामीले सरकारमा रहेर देश र जनताका पक्षमा गर्न खोजेका थुप्रै राम्रा कामहरुलाई हुन नदिन कतिपयले सरकार बाहिरवाट र कतिपयले सरकारभित्रैबाट निरन्तर वाधा उत्पन्न गरिरहे। उदाहरणको निम्ति हामीले सरकार गठन भए लगत्तै प्रस्तुत गरेको नीति तथा कार्यक्रम र वार्षिक वजेटका जनमुखी कार्यक्रमहरुलाई अनेक वहाना वनाएर कार्यान्वयन हुन दिइएन। स्थानीय निकायहरुको गठन हुन नदिएर गाउँ गाउँमा पठाइएको अरवौंको वजेट खर्च हुन सकेन। सानातिना निहुँमा हप्तौंसम्म वन्द हड्ताल र सदन अवरुद्ध गर्ने काम भइरह्यो। फलस्वरुप कतिपय अत्यन्त जरुरी र सार्वजनिक तथा राष्ट्रिय महत्वका विधेयकहरु प्ारित हुन सकेनन् भने अरवौंको विकास वजेट खर्च हुन सकेन र जनताले तत्काल पाउनु पर्ने राहत समेत प्राप्त गर्न सकेनन्। फेरि पनि संक्रमणकालको विशिष्ठ अवस्था र संयुक्त सरकार संचालनको वाध्यता भनेर हामीले धैर्य गर्दै गर् यौं। तर यो जनअनुमोदन प्राप्त सरकारलाई विभिन्न ढंगले घेरावन्दी गर्ने अग्रगमनकारी एजेण्डा लागू हुन नदिने र असफल पार्ने प्रयत्न विभिन्न प्रतिगामी र यथास्थितिवादी कोणबाट भैरहयो। यो सरकारले चालू शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर् याउने समयमै जनसंविधान निर्माण गर्ने जनतालाई आर्थिक-सामाजिक परिवर्तनको प्रत्याभूति गराउने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कुरालाई हमेशा उच्च प्राथमिकता िदंदै आएको छ। त्यसरी नै वहुदलीय प्रतिस्पर्धात्मक लोकतन्त्र संघीय शासन प्रणाली विधिको शासन मानव अधिकार प्रेस स्वतन्त्रता आदि मूल्यमान्यताहरुलाई दह्रोसंग आत्मसात गर्दै आइरहेको छ र ती प्रतिको प्रतिवद्धता हमेशा कायम राख्नेछ। देशको विशिष्ठ ऐतिहासिक संक्रमणकाल वृहद् शान्ति सम्झौता र अन्तरिम संविधानको मर्म र भावना अनुरुप हामीले राष्ट्रिय सहमतिको राजनीतिलाई विशेष जोड िदंदै आएका छौं। सरकारभित्र र वाहिरका राजनीतिक दलहरुसंग सहमति कायम गर्ने प्रयत्न गर्दागर्दै कतिपय अवस्थामा हामीलाई सामान्य निर्णय गर्न पनि महिनौं लाग्ने गरेको छ। त्यसैले एउटै कुरामा कसैले हामीलाई अधिनायकवादी र कसैले निर्णयविहीन भनेर लगाउने गरेको आरोपलाई पनि हामीले चूपचाप सहँदै आएका छौं। फेरि पनि शान्तिप्रक्रिया लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रिय एकता तथा स्वाधीनताप्रतिको हाम्रो विश्वास र प्रतिवद्धतामा कत्ति पनि कमी आएको छैन र जुनसुकै उत्तेजनाले पनि हामीलाई त्यसवाट विचलित गराउन नसक्ने अठोट म पुनः एकपटक दोहोर् याउन चाहन्छु।

सभामुख महोदय

शान्ति प्रक्रियालाई निस्कर्षमा पुर् याउन र संविधान-निर्माण प्रक्रियालाई समयमा पुरा गर्न १२ बुँदे समझदारीभन्दा अझ उच्च स्तरको राष्ट्रिय सहमति निर्माण गर्नू अनिवार्य छ। विद्यमान भ्रम अन्योल र आशंकाको स्थितिको अन्त्य गर्न र त्यस प्रकारको राष्ट्रिय सहमति निर्माण गर्न सबै जिम्मेवार राजनीतिक दल र नागरिक आन्दोलनका प्रतिनिधिहरु गम्भीर गृह कार्यमा जुट्न आवश्यक छ। जसरी पनि बहुमत पुर् याएर सरकार बनाउने खेलले नेपाल र नेपाली जनताको ऐतिहासिक कार्यभार पुरा हुने छैन। अतः बृहत राष्ट्रिय सहमति कायम गरी राष्ट्र र जनताको आवश्यकता र आकांक्षाअनुसार शान्ति र संविधान निर्माण प्रक्रियामा एकजुट हुन सबैसँग अपिल गर्दै करिब ९ महिना लामो एकीकृत नेकपा माओवादी को सरकारलाई सहयोग र समर्थन गर्ने देशभित्र र बाहिरका सबै मित्र र आम जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै विदा हुन्छ।
धन्यवाद

गणतान्त्रिक मोर्चा,बेल्जियमले अन्तरक्रिया कार्यक्रम गर्ने

ब्रसेल्स,बेल्जियम २२ मइ
सामन्तवादी राज्यव्यवस्थाको कारण विभिन्न चपेटावाट विदेशिन वाध्य भएका हामी नेपालीहरुले विदेशमा रहेर पनि लामो समय देखि मुक्तिकामी नेपाली जनताले चलाएका आन्दोलन प्रति विभिन्न माध्यमबाट सहयोग,समर्थन र ऐक्यवद्धता जाहेर गर्दै आएको सन्दर्भमा अहिले नेपाल संघिय लोकतान्त्रिक गणतान्त्रिक राज्य घोषिित भै सकेको छ । देशको वर्तमान संक्रमणकालिन राजनैतिक अबस्थाका कारण यसको संस्थागत बिकास गर्न, नया“ नेपालको जनमुखी संबिधान निर्माण गर्न, वैदेशिक हस्तक्षेप रोक्न, सबै वर्ग,जाति,धर्म,भाषा,लिङग र क्षेत्र आदिलाइ संमृद्ध वनाइ स्वाभिमानका साथ नेपाल भित्रै बा“च्न पाउने स्थितिको निर्माण गर्ने जस्ता कार्य गर्न तथा मुलुकमा दिगो शान्ति कायम गर्न बाकी रहेकाले यी कार्य पुरा गर्न स्वदेश तथा विदेशबाट जनपक्षिय हित र नया“ नेपालको निर्माण गर्न अझ पनि सहयोग र समर्थनको तड्‍कारो आबश्यकता रहेको छ ।
बेल्जियममा पनि हामी देशभक्त प्रगतिशील,जनतान्त्रिक,वामपन्थि तथा लोकतान्त्रिक गणतान्त्रिक शक्तिहरुका विचमा गोलवन्द गर्दै आन्दोलनरत रहि आएको नेपाली लोकतान्त्रिक गण्तान्त्रिक मोर्चा,वेल्जियमले आफ्‍नो स्थापनाकाल देखि नै यी दायित्वहरुमा प्रभाबकारी ढंगले पुरा गर्दै आएको र निरन्तर गर्न प्रतिवद्धता जनाएको छ । यसै सन्दर्भमा आगामी १४ जुन २००९ आइतबारका दिन "नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवश्था,यसको विकास र चुनौति तथा हाम्रो भूमिका''भन्ने विषयको मुल मर्मलाइ पक्रदै नेपाली लोकतान्त्रिक गण्तान्त्रिक मोर्चा,बेल्जियमले नेपालको अहिलेको राजनितीक स्थितिको बारे समसामयिक रुपमा छलफलका लागि युरोप तथा वेल्जियममा रहेका विभिन्न नेपाली तथा गैर नेपाली संघ संगठनहरुका साथै आम नेपालीहरुको विचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि सम्पन्न गर्ने गैरहेकोले यस कार्यक्रममा वेल्जियम तथा यूरोपमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरु, प्रजातान्त्रिक,देशभक्त ,प्रगतिशील,जनतान्त्रिक,बामपन्थि तथा लोकतान्त्रिक गणतान्त्रिक शक्तिहरुलाइ उपस्थित भैदिनु हुन अनुरोधका साथ हार्दिक आब्हान गरेको छं ।