Monday, April 20, 2009

सभासद्लाई भ्याइनभ्याइ

काठमाडौं
सभासद्हरूले घरमै जनताका पोका बोकेर जाने र राति पनि काम गर्ने योजना बनाएका हुन्। सभासद्हरू सिंहदरबारबाट लाइन लागेर बोरा र कपडाका पोकाहरू काँधमा बोकेर बाहिर निस्कँदै गर्दा जनताले सिंहदरबारको मूलद्वारमा प्रश्न गर्दै थिए- केको भारी बोकेर निस्कनुभएको नि - सभासद्को उत्तर थियो- जनताको भारी।संविधान निर्माणको ऐतिहासिक कार्यमा सहभागी सभासद्हरूले गाउँगाउँबाट जनताले दिएका सुझावपत्रहरूको पोको अध्ययन गर्न सिंहदरबारमा समय कम भएपछि आफनै घर लिएर जान थालेका छन्।बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म अध्ययन गर्दा पनि नसकिने स्थिति देखिएपछि सभासद्हरूले घरमै जनताका पोका बोकेर जाने र राति पनि काम गर्ने योजना बनाएका हुन्। गाडी हुनेले पीए र चालकमार्फ पोकाहरू सवारीसाधनमा राख्न लगाएको देखिन्थ्यो भने सवारीसाधन नहुने अधिकांश सभासद् आफै पोका बोकेर सिंहदरबारबाट निस्कँदै थिए।सिंहदरबारको मूलगेटमा सभासद् सावित्री दुरालाई एक जना शुभेच्छुकले कसैको सहयोग लिएको भए हुन्थ्यो नि कि म सहयोग गरौं भनी आग्रह गर्दै थिए। तर सभासद् दुराले जनताले दिएको भारी बोक्न केको लाज भन्दै आफैले बोकी संविधानसभा बैठकस्थल बानेश्वरसम्म पुग्नुभएको थियो।व्यवस्थापिका-संसद्को हैसियतमा बसेको संविधानसभा बैठकमा भाग लिएर दुरालगायत थुप्रै सभासद्ले जनताको पोको लिएर घर गएका थिए। एक जना सभासद्लाई एक हजारदेखि १५ सयसम्म जनताको सुझावसहितको प्रश्नपत्रको पोको अध्ययन गर्ने भागमा परेको छ। संविधानसभा सचिवालयले सबै सभासद्लाई प्रश्नपत्रको पोको बनाएर राखिदिएको छ।सभासद् सन्तोषी विकले बोकेको भारी गह्रौं भएको देखेपछि संविधानसभा बैठक स्थल जाँदै गरेका एक जना शुभेच्छुकले आफनो साधनमार्फ सहयोग गरेका थिए। न्यायप्रणालीसम्बन्धी समितिले पनि आफनो समितिमा रहेका सबै सभासद्लाई बराबरी रूपमा वितरण गर्ने पोका तयार पारेको छ। आज सोमबार ११ बजे बस्ने बैठकबाट जनताको सुझावसहितको पोको वितरण गरिने जानकारी सचिवालयका अधिकृत बालकृष्ण सुवालले गराउनुभएको छ।संविधानसभा कार्यतालिकाअनुसार यही वैशाख १० गतेसम्म जनताले दिएका सुझाव अध्ययन गरी अवधारणा तयार गर्ने र सोही अवधारणाको आधारमा विषयगत समितिहरूले संविधानको प्रारम्भिक मस्यौदा तयार गर्नुपर्ने हुन्छ। तर समयाभावका कारण मस्यौदा तयार भइनसक्ने स्थिति देखिएको छ।विद्युत् कटौतीले गर्दा मैनबत्तीबाट अध्ययन गर्नुपर्दा निकै अप्ठेरो भएपछि कतिपय सभासद्ले मिलेमा बिहान ६ बजे नै सिंहदरबार जाने र राति ९/१० बजेसम्म बसेर अध्ययन गर्नुपर्ने सोचाइ बनाएको बुझिएको छ।संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जनताले दिएका एउटा पनि सुझाव नछुर्टाई टिपोट गर्न निर्देशन दिनुभएको छ भने आइतबार बसेको माओवादी संसदीय दलको बैठकमा पनि संविधान निर्माणका लागि जनताले दिएका सुझावलाई गम्भीरतापूवक अध्ययन गर्नेबारेमा छलफल भएको थियो।यसैबीच संविधानसभा मौलिक अधिकार तथा निर्देशक समितिले आफनो समितिमा ४४ हजार सुझाव आएको र रायसुझावको अध्ययनको कार्यबोझलाई हेदा १० गतेसम्म समय नपुग्ने जानकारी संविधानसभाका अध्यक्षलाई गराउने निर्णयगरेको छ।(सभासद्लाई अनिवार्य उर्दी)संविधानसभा संसद्को बैठकमा सभासद्को उपस्थिति कम हुने गरेको गुनासो आएपछि एकीकृत नेकपा (माओवादी) ले आफना सभासद्हरूलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।माओवादीले आज सोमबारदेखि आफना सभासद्को छुट्टै हाजिरी राख्ने भएको छ। संविधानसभा बैठकस्थलमा आफनो सभासद् कतिखेर प्रवेश गर्यो, कतिखेर निस्क्यो भन्ने रेकर्ड राख्ने गरी हाजिरीको व्यवस्था गर्न लागेको बताइएको छ।बैठक चल्दाचल्दै बाहिर जानुपरेमा प्रमुख सचेतकको अनुमति लिनुपर्ने, कुनै कारणले बैठकमा जान नसक्ने भएमा पनि प्रमुख सचेतकलाई जानकारी गराउनुपर्ने कडा व्यवस्था माओवादी संसदीय दलले गर्ने भएको छ।

No comments:

Post a Comment