Monday, April 20, 2009

'भारतीयहरूको आतंकले बाँच्न गाह्रो भो'


देशविहीन अवस्थामा रहेका नौ गाउँका एक हजार तीन सयभन्दा बढी सर्वसाधारणले आइतबार जिल्लाका सरकारी निकाय प्रमुखहरूसामु आफ्ना पीडा पोखेका छन् । गाउँको स्थलगत अध्ययन गर्न आएको सुरक्षा तथा प्रशासनिक निकायको टोलीसित उनीहरूले भारतीयहरूबाट पाएको सास्ती सुनाउँदै सुरक्षा माग गरे । बाँकेका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर खत्री, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिङमार लामा, सीमा सुरक्षा बलका प्रहरी उपरीक्षक दिलीपकुमार शर्मालगायत एक दर्जन सरकारी कार्यालयका प्रमुख आइतबार ती गाउँको स्थलगत अध्ययनमा पुगेका थिए । उनीहरूसामु खुलेर आफ्नो भनाइ राख्ने क्रममा गाउँवासीले दिनदहाडै भारतीय नागरिकको ज्यादति रोक्न आग्रह गरे ।
बेवारिसे बस्तीमा सरकारी टोली 'भारतीयहरूले बारीका रूख काटेर लैजान्छन् । रोक्न खोज्यो भने धम्क्याउँछन् । दैनिक धम्की सहेर बस्नुपरेको छ,' बाँसखोलीमा १५ वर्षदेखि बस्दै आएकी दिल्लीसरा घर्तीले सरकारी अधिकारीलाई सुनाइन् । गाउँवासीका अनुसार त्यस क्षेत्रमा रहेको बनकस, महुँवा जम्मा गरेर नजिकै रहेको भारतीय बिफे बजारमा बिक्री गर्न जाँदा झनै दुव्र्यवहार सहनुपरेको छ । स्थ्ाानीयवासी हस्तलाल बुढाथोकी भन्छन्, 'हामी बसेको ठाउँ भारतले दाबी गर्दै आएको छ । कुट्ने, पिट्ने मात्रै होइन, उनीहरूका ज्यादति रोक्ने प्रयास गर्दा घरमा आगोसमेत लगाइदिन्छन् ।'भारतीय नागरिकको आतंक समाप्त गर्न सर्वसाधारणले तत्काल प्रहरी चौकी स्थापना गर्नुपर्ने माग राखे । 'नेपालका प्रहरीले हाम्रो सुरक्षा गरे हामी पनि केही बोल्न पाउँछौँ । नेपालको भूमिमा बसेर आइन्दा भारतीयको धम्की सहनु नपरोस्,' उनले भने ।दुई वर्षअघि मात्र त्यहाँको जंगललाई सामुदायिक बनाउनुपर्ने आवाज उठाएकै कारण स्थानीयवासी हरिबहादुर थापाको गोली हानेर हत्या गरिएको स्थानीयवासीले जानकारी दिएका छन् । सो घटनापछि भारतीय नागरिकको प्रतिरोध गर्न छाडेको उनीहरूले बताए । 'बोल्ने हो भने ज्यान मार्ने धम्की दिन्छन्,' नरबहादुर भण्डारीले भने, 'हामी हाम्रो भूमि भारतीयले नखोसुन् भन्ने चाहन्छौँ,' स्थानीयवासी तिलबहादुर घर्तीले भने ।स्थानीयवासीको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी खत्रीले सुरक्षा, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्न सरकारसँग माग गरिने बताए । 'म यहाँको सम्पूर्ण अवस्थाबारे सरकारलाई जानकारी गराउँछु र तत्काल सुरक्षाको प्रत्याभूति मिलाउनेछु,' उनले भने ।बेवारिसे अवस्थामा रहेका ती बस्तीमा बाँकेका सरकारी कार्यालयका प्रमुखहरू पहिलोपटक आइतबार पुगेका हुन् । बाँकेको बहुचर्चित सिक्टा सिँचाइ योजनाबाट झन्डै १५ किलोमिटर जंगलमा मोटरबाट र त्यसपछि दुई घन्टाको उकालो चढेर बाँकेका प्रजिअ, एसपी, निमित्त जिल्ला शिक्षा अधिकारी डबल बिसी, नापी अधिकृत सञ्जय छतकुल्ली, इन्जिनियर उज्ज्वल दाहाल, जिल्ला विकास समितिका अधिकृत रमेशकुमार शाह, जनस्वास्थ्य प्रमुख केहरसिंह गोदार, राजनीतिक दलका नेता र सञ्चारकर्मीहरू ती गाउँ पुगेका थिए । नयाँ पत्रिकामा लगातर समाचार प्रकाशित भएपछि ती गाउँबारे सर्वत्र चासो उब्जिएको छ । बाँकेको वैजापुर गाविस- ३ देखि पूर्व, खास कुश्मा गाविसदेखि दक्षिण, दाङको महुवा नाकादेखि पश्चिम र नेपाल-भारत सिमानाको पिलर नम्बर ८६ र ८७ देखि उत्तरमा नौवटा मानवबस्ती छन् । त्यहाँका बाँसखोला, चुनमण्डी, खैरीभट्टी, कुन्तेपानी, अम्बासा, गुर्दनगौरी, मुरकट्टा, भौरिया गाउँ र बनवा गाउँ नेपालभित्रै भए पनि कुनै पनि गाविस वा जिल्लामा गाभिएका छैनन् ।

No comments:

Post a Comment