
प्रधानमन्त्रीबाट कामचलाउ प्रधानमन्त्री भएपछि कसरी बितेका छन् दिन ?
फुर्सद हुने होइन क्यारे । राजनीतिक छलफलमा छु । पार्टीमा पनि मिटिङ छ । कांग्रेस, एमाले र फोरमसँग पनि कुरा भइराख्या छ, राष्ट्रपतिको असंवैधानिक कदम सच्याउनेबारे । अरू दलसँग पनि संवाद चलिराखेको छ ।
राजीनामापत्र बुझ्दै गर्दा राष्ट्रपतिले के भन्नुभयो ?
मैले 'विषयहरू बडो नमिठोसँग गयो' भन्दा 'भैगो, जे भयो-भयो, पुराना कुरा बिर्सिदिऊँ' भन्ने कुरा गर्नुभयो । इमानदार हुनु एउटा कुरा रहेछ तर अप्ठेरो पर्दा उभिनु अर्को कुरो हुँदोरहेछ । हेर्दा सोझो देखिने तर अप्ठेरो पर्दा नअडिने भएपछि के काम ? त्यसैले राष्ट्रपतिले आफ्नो गल्ती सच्याएर अगाडि आउनुहुन्छ भन्ने आशा गरेको छु ।
अस्ति पत्रकार सम्मेलनमा फेरि पनि माओवादीकै नेतृत्वमा सरकार बन्छ भन्नुभयो । सरकार गठनका लागि नयाँ गठबन्धनको तयारीमा हुनुहुन्छ, हो ?
सरकार बनाउने अहिलेको हाम्रो प्राथमिकता होइन । मैले अल्पमतमा परेर राजीनामा दिएको पनि होइन । राष्ट्रपतिको असंवैधानिक कदमले द्वैधसत्ताको स्थिति बनेपछि मैले नैतिक र राजनीतिक दृष्टिकोणले हस्तक्षेप गर्न राजीनामा दिएँ । अहिले पनि संविधानसभाको सबैभन्दा ठूलो पार्टी त माओवादी नै हो । हाम्रो नेतृत्वमा सरकार नबन्नुपर्ने कारण के छ ? तर, राष्ट्रपतिको 'स्टेप' नसच्चिएसम्म सरकार गठन हाम्रो र देशको पनि प्राथमिकता होइन ।
कसरी सच्चिन्छ राष्ट्रपतिको स्टेप ?
उनको आदेश फिर्ता हुनुपर्छ र क्याबिनेटको निर्णय लागू हुनुपर्छ ।
यो त तपाईंको कुरा भयो । अरू दल के भन्छन् ?
यो त तपाईंको कुरा भयो । अरू दल के भन्छन् ?
अहिलेसम्मका छलफलमा अरू दल पनि क्रमशः त्यही बिन्दुमा आउँदै छन् । एमालेको संसदीय दलमा असंवैधानिक भन्नेको बहुमत छ, पार्टीले पनि विवेकपूर्ण ढंगले सोच्ने हो भने आखिर यहीँ आउनैपर्ने हुन्छ । फोरमले सार्वजनिक रूपमा असंवैधानिक भनेकै छ । यसरी हेर्दा संसद्भित्र नागरिक सर्वोच्चता स्थापित गर्ने पक्षमा, राष्ट्रपतिको निर्देशनका विपक्षमा अत्यधिक बहुमत छ । तर, कांग्रेसको चाहिँ बडो लाजमर्दो छ । (कांग्रेस) हिजोसम्म बडो चर्को विरोध गथ्र्यो राष्ट्रपतीय प्रणालीको । आज उही राष्ट्रपतिलाई नयाँ राजाका रूपमा निर्माण गर्दै हिँडेको छ ।
यो विषय अदालतमा विचाराधीन छ । त्यसैले अदालतबाटै यसको निकास निस्कन्छ भन्ने लाग्दैन तपाईंलाई ?
कानुनी तर्क होला तर राष्ट्रपतिको त राजनीतिक 'स्टेप' हो । त्यसैले यसबारे राजनीतिक रूपमै निर्णय हुनुपर्छ । त्यो दिन मध्यरातमा राष्ट्रपतिले संविधानमाथि, लोकतन्त्रको परम्परामाथि अत्यन्तै ठूलो हस्तक्षेप गरे । मैले अदालतलाई अपमानित गर्न चाहेको छैन, तर यो मुद्दा राजनीतिक हो । यो नियतसँग जोडिएको मुद्दा हो ।
राष्ट्रपतिको स्टेपको अनुमान थियो ?
(राष्ट्रपतिलाई) अघि सर्न उक्साइँदै छ भन्नेसम्म थियो । कटवाललाई स्पष्टीकरण माग्दादेखि नै कांग्रेसको प्रतिक्रिया हेर्दा, देशी-विदेशी प्रतिक्रियावादीको प्रतिक्रिया हेर्दा त्यसो लाग्थ्यो । तर, यति हुकुमी र असंवैधानिक ढंगले आउलान् भन्ने (लागेको) थिएन ।
राजीनामा नै दिने मनस्थितिमा कतिखेर पुग्नुभयो ?
राजीनामा नै दिने मनस्थितिमा कतिखेर पुग्नुभयो ?
सोमबार बिहान उज्यालो हुँदानहुँदै । आइतबार मध्यरातमा उनले (राष्ट्रपतिले) गरेको निर्णय केवल मेराविरुद्ध लक्षित थिएन, संविधानमाथि, अझ लोकतन्त्रमाथि नै आक्रमण थियो । त्यसैले मैले नैतिक र राजनीतिक आधारमा राजीनामा नै दिने निर्णय गरेँ । यो निर्णय गर्न मलाई अलिकति पनि समय लागेन । (पार्टी) सेक्रेटरियटका कमरेडहरूसँग पनि यही प्रस्ताव गरेँ । यो एउटा सामान्य राजीनामा थिएन । यसलाई यसरी बुझ्नुहोला । जनताको लोकतन्त्रको आकांक्षा, अन्तरिम संविधानको भावना र राष्ट्रिय स्वाभिमानसमेतको ख्याल गर्दा मैले सोचेँ, यसको प्रतिरोध हुनुपर्छ । मेरो राजीनामा राष्ट्रको, लोकतन्त्रको, विधिको, संविधानको पक्षमा एउटा प्रतिरोध हो । सत्तामा जान मरिहत्ते गर्ने, जसको पाउ पनि पर्ने, राष्ट्रको स्वाभिमानको ख्याल नगर्ने, पुगेपछि झर्नै नमान्ने, जसरी पनि टाँसिने प्रवृत्ति हाम्रो होइन । मैले एउटा उदाहरण पेस गरेँ । मैले केही गरेँ भन्ने गौरवबोध मलाई छ ।
तपाईंहरू राष्ट्रपतिले निर्णय सच्याउनैपर्ने भनिरहनुभएको छ, राष्ट्रपतिको कदमका पक्षधरहरू यसलाई संवैधानिक भनिरहेका छन् । द्वन्द्व यही रूपमा अघि बढ्ने हो भने मुलुकको राजनीति या राष्ट्रपतिको संकटकालीन शासन वा उनको राजीनामासम्म पुग्ने त होइन ?
मैले त्यस्तो 'एक्सटि्रम' सोचेको छैन । प्रतिगामी कोणबाट, विदेशी हस्तक्षेपको कोणबाट पनि यो संकेतचाहिँ छ । तर, मेरो र हाम्रो पार्टीको कोसिस शान्ति-प्रक्रियाको तार्किक निष्कर्ष र नयाँ संविधान निर्माण हो । यो देशमा फेरि संकटकाल लगाउने र राष्ट्रपति शासन लागू गर्ने भन्नु भयानक जनविद्रोहलाई निमन्त्रणा दिनु हो । न मुलुकको राजनीतिक सन्तुलनले त्यो अनुमति दिन्छ न संविधानले । एउटा गल्तीको ढाकछोप गर्न कसैबाट यस्तो मूर्खतापूर्ण अपराध होला भन्ने मलाई लाग्दैन । त्यसो भइहालेछ भने त्यस्तो निर्णय गर्नेहरू नै पछुताउने स्थिति आउँछ ।
राजीनामा दिँदै गर्दा तपाईंले 'कुनै विदेशी प्रभुहरूका अघि शिर झुकाउन तयार छैन भन्नुभयो । को हुन् ती प्रभु ?’
म अझै पनि प्रधानमन्त्री नै छु । त्यसैले तपाइंले मेरै मुखबाट भन्न लगाउनु उचित हुन्न । तर, आमजनताले कुरो बुझिसकेका छन् । मैले पहिल्यै भनेँ- मेरो राजीनामा राष्ट्रिय आत्मसमर्पणवादविरुद्धको प्रतिरोध हो ।
तपाईं एकातिर राष्ट्रपतिको 'स्टेप’ सच्चिनुपर्ने सर्त राख्दै हुनुहुन्छ, अर्कातिर कांग्रेस, एमाले र फोरमसँग नयाँ सरकार गठनका लागि पहल पनि गर्दै हुनुहुन्छ । यो विरोधाभास किन ?
यो विरोधाभास होइन, तपाईंको नजरदोष हो । हामीले अरू दलहरूसँग संवाद गरिरहेको सरकार बनाउनका लागि होइन, राष्ट्रपतिको असंवैधानिक कदम सच्याउनका लागि हो । यो मैले सुरुमै पनि भनिसकेको छु । कांग्रेस र एमालेको नेतृत्व सरकार बनाउनतिर अभ्यास त गर्दै छन् तर उनीहरूको बहुमत पुग्छ जस्तो लाग्दैन । एमालेभित्रका देशभक्त, शान्ति-प्रक्रियाका पक्षधर र अग्रगामीहरू राष्ट्रपतिको स्टेपका पक्षमा छैनन् । एमालेभित्रका वामपन्थी र देशभक्तबीच अझ दरिलो एकता बन्नुपर्छ र विगतका समीक्षा पनि हुनुपर्छ । स-साना कुराले पैदा भएको एमाले र माओवादीबीचको अविश्वास मेटिन्छ, मेटिनुपर्छ । वामपन्थीहरूलाई फुटाएर प्रतिगामीको सेवा गर्न खोज्नेहरू हार्नेछन्, हार्नुपर्छ ।
एकातिर राजीनामा दिनुहुन्छ, अर्कातिर नयाँ सरकार बन्न नदिन व्यवस्थापिका अवरुद्ध गरिरहनुभएको छ । यसले तपाईंको राजीनामाबाट प्राप्त नैतिक बल कमजोर बनाउँदैन ?
नयाँ सरकार बन्न नदिन यसो भएको होइन । हाम्रा लागि त्यो मुख्य कुरा पनि होइन । तर, राष्ट्रपतिको अवैधानिक कदम फिर्ता लिन दबाब दिने थलो कुन त ? तर, यसको अर्थ सधैँ यस्तै गर्ने भन्ने होइन । यसबारेमा छलफल भइरहेको छ, पार्टीभित्र र अरूसँग पनि । केही न केही निकास त पक्कै आउला । अनि तपाईंको टेप-प्रकरण ? यसले तपाईंहरू यो वा त्यो रूपमा सत्ताकब्जातिरै अघि बढेको निष्कर्षलाई नै बल पुग्यो, होइन ?
त्यो बेग्लै सन्दर्भको टेप हो । सत्ताकब्जा गर्न खोजेको पार्टीले हाँसीहाँसी राजीनामा दिन्छ ? यो विषयमा जे भन्नु छ, मैले पहिल्यै भनिसकेको छु । अब यसलाई नदोहोर्याऊँ ।
No comments:
Post a Comment